काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशको विराटनगरमा आज निर्वाचन समीक्षा कार्यक्रम गर्दैछ । कार्यक्रममा सभापति गगन कुमार थापासहितका नेताहरु सहभागी हुनेछन् ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ :५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्ने र बिहान १०: ३० बजेदेखि समीक्षा कार्यक्रम सुरु गर्ने तयारी गरिएको पार्टीकी सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् ।
उनका अनुसार पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको हो ।
कांग्रेसको कोशी प्रदेशको नेतृत्व व्यवस्थापन तथा संगठन सुदृढीकरणका विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल हुने सहमहामन्त्री संग्रौलाले जानकारी दिइन् ।
कार्यक्रममा पार्टीका कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ ।