बुधवार, आश्विन १४ गते २०८३

यसकारण स्थगित भयो भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण

शनिवार , बैशाख १९, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिन नेपाल आउन लागेका भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको छ । मिश्री  वैशाखको अन्तिममा नेपाल आउन लागेका थिए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणापत्र बोकेर नेपाल आउन लागेका विदेश सचिव मिश्रीको प्रधानमन्त्री शाहलाई भेट्ने समय तय नभएका कारण भ्रमण स्थगित भएको भारतीय स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री शाहले भेटका लागि हुन्छ पनि नभनेको र हुन्न पनि नभनेका कारण अन्योल उत्पन्न भएको हो । ‘प्रधानमन्त्री शाहले भेटका लागि हुन्छ पनि नभन्ने र हुन्न पनि नभन्दा भारतीय पक्ष दुविधामा छ,’ उच्च स्रोतले भन्यो ।

भारतीय विदेश सचिवको भ्रमण कहिले तय हुने भन्नेबारे दुवै पक्षले केही खुलाएका छैनन् । यसअघि भारतीय कूटनीतिज्ञहरूले नेपालमा प्रधानमन्त्री तथा राष्ट्रपति तहका पदाधिकारीहरूसँग सहजै भेट्ने गरे पनि प्रधानमन्त्री शाहले अहिलेसम्म कुनै पनि विदेशी कूटनीतिज्ञलाई एक्लाएक्लै भेटेका छैनन् ।

यसअघि नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपूरले पनि प्रधानमन्त्री शाहसँग पटक–पटकको प्रयासका बाबजुद भेट पाएनन्।

त्यसैगरी हाल नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले पनि शाहसँग भेट्ने समय पाएनन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार