काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरूपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफू पक्षका नेता, कार्यकर्ताहरूलाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।
नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दुरूपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरू आफूहरूलाई मान्य नहुने चेतावनी समेत दिए। उनले पार्टीको आगामी महाधिवेशनमा नेतृत्व रूपान्तरण गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे।