काठमाडौं । नेकपा एमालेका दुई सांसदलाई एकीकृत समाजवादीमा आवद्ध हुन सर्वोच्चले बाटो खोलिदिएको छ। प्रतिनिधिसभा सदस्यद्धोय सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा एकीकृत समाजवादीमा आवद्ध हुन पाउने भएका हुन्।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो। उनिहरु एकीकृत समाजवादीको सांसद कायम भए संघीय एकीकृत समाजवादीको सांसद संख्या बढेको छ।
प्रतिनिधिसभामा एकीकृत समाजवादीको सांसद संख्या २३ पुगेको छ भने राष्ट्रियसभामा ८ पुगेको छ। माधवकुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी दर्ताका लागि एमाले केन्द्रीय सदस्यहरुले सनाखत गर्नुपूर्व नै दुवैले निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर २ भदौमा दल दर्ताका लागि निवेदन दिँदा दुवैको नाम नभएका कारण आयोगले सनाखत गरेन।
एकीकृत समाजवादी रोज्न पाउनुपर्ने भन्दै दुवैले हालेको रिटमा न्यायाधीशद्वय खतिवडा र सुवेदीको इजलासले सनाखतपूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्ने गरी कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको छ।