काठमाडौँ । अत्यधिक मूल्यवृद्धिका कारण निर्माण कार्य अघि बढाउन नसकिएको भन्दै देशभरका निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आफ्ना मागहरू पूरा गराउन आजदेखि सरकारी निकायहरूमा धर्ना र घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
आज बिहान १० बजेदेखि देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा व्यवसायीहरूले धर्ना दिइरहेछन् । साथै, आज काठमाडौँमा सडक विभाग, सिँचाइ विभाग र सम्बन्धित मन्त्रालयहरूमा समेत धर्ना दिएका छन् ।
गत फेब्रुअरी २८ देखि सुरु भएको वैदेशिक युद्धका कारण निर्माण सामग्रीको मूल्य अनपेक्षित रूपमा बढेको हो । इन्धन र निर्माण सामग्रीको भाउ बढे पनि सरकारले मूल्य समायोजन नगरेकाले देशभरका करिब ७ देखि ८ हजार ठेक्काको काम स्वतःस्फूर्त रूपमा बन्द भएको छ ।