सोमवार, श्रावण २५ गते २०८३

सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहस, लगानी भित्र्याउन जोड

आइतवार , जेठ ३, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ । धनगढीमा जारी ‘सुदूरपश्चिम कचहरी–२०८३’ अन्तर्गत आज दोस्रो दिन आयोजित कार्यक्रममा संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव हुने भन्दै लगानी भित्र्याउन प्रदेश सरकारले सक्रिय पहल गर्नुपर्ने धारणा व्यक्त गरिएको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले सुदूरपश्चिम प्रदेशमा पर्यटन, कृषि, सम्पदालगायत थुप्रै क्षेत्रको प्रवर्द्धन गरी आम्दानी बढाउन सकिने सम्भावना भए पनि लगानीका लागि भने उपेक्षा भएको बताए ।

“एकदमै धेरै सम्भावना भएको क्षेत्र सुदूरपश्चिम हो,” उनले भने, “पर्यटन र जडीबुटीको क्षेत्रमा बढी सम्भावना छ । यहाँको सम्भावना देखेर हामीले चिसापानीमा अहिलेसम्मकै ठूलो केबुलकारसहितको आयोजना सञ्चालन गर्ने अन्तिम तयारी गरेका छौँ ।”

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारको नीति र प्रतिफल हेरेर निजी क्षेत्रको लगानी आउने बताए । “सुदूरपश्चिममा सम्भावना धेरै छ,” उनले भने, “सरकारीस्तरबाट लगानीकर्तालाई सुविधा दिन आवश्यक छ । सम्भावना स्पष्ट रूपमा प्रस्तुत गर्न नसक्दा पनि लगानी भित्र्याउन समस्या भइरहेको छ ।”

प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमका सदस्य नृपबहादुर सुनारले सुदूरपश्चिम पर्यटन, कृषि, सम्पदा र प्राकृतिक स्रोतका हिसाबले सम्भावनायुक्त क्षेत्र भएकाले ती सम्भावनालाई नीति, कार्यक्रम र बजेटमा समेट्न आवश्यक रहेको बताए ।

सुदूरपश्चिम विकास फाउण्डेसनको आयोजनामा धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सञ्चालन भइरहेको हो । आजको पहिलो सत्रमा ‘प्रदेशसभा सदस्यसँग विशेष संवाद’ शीर्षकमा सुदूरपश्चिमको विकास, दीर्घकालीन एजेण्डा तथा नीतिनिर्माणका विषयमा छलफल गरिएको थियो ।

छलफलमा सहभागीहरूले राजनीतिक नेतृत्व सही ढङ्गले सञ्चालन हुन नसक्दा सुदूरपश्चिम अपेक्षाअनुसार विकास हुन नसकेको बताएका थिए । नेकपा सुदूरपश्चिमका संसदीय दलका नेता खगराज भट्ट, सामाजिक विकास समितिका सभापति धर्मराज पाठक र नेपाली कांग्रेसका सांसद रक्षा महाराले सुदूरपश्चिमको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए ।

यसअघि शनिबार भएको पहिलो दिनको कार्यक्रममा पनि सुदूरपश्चिम प्रदेशको विकासका लागि तीनै तहका सरकारबीच सहकार्यसँगै निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीकर्ताको सहभागिता आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका थिए ।

प्रदेश सरकारका प्रमुख सचिव वैकुण्ठ अर्यालले प्रदेशका विकास आयोजना निर्माणमा प्रदेश, स्थानीय र सङ्घीय सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए । प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष डा. जीवन रानाले रामारोशन, खप्तड र बडिमालिकालाई पर्यटकीय सर्किटका रूपमा विकास गर्न सकिने धारणा राखिन् ।

राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले गड्डाचौकी–अत्तरिया–चिसापानी सडक खण्डलाई चार लेनमा विस्तार गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको जानकारी दिए ।

 
 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार