म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, जोमसोमले फलफूलबालीमा लाग्ने रोगकिरा नियन्त्रणका लागि रासायनिक विषादीको विकल्पस्वरूप ‘जैविक झोल’ प्रयोग गर्न थालेको छ ।
स्थानीय जडीबुटी र घाँसको मिश्रणबाट तयार पारिएको उक्त जैविक झोललाई परियोजनाले ‘इपिफाइटिक ल्याक्टिक एसिड ब्याक्टेरिया’ नाम दिएको छ । परियोजनाका प्रमुख भरतराज गौतमका अनुसार गत वर्ष कार्यालयको स्याउ बगैँचामा परीक्षण गरिएको जैविक झोल सफल भएपछि यस वर्षदेखि मुस्ताङका किसानका स्याउ बगैँचामा प्रयोग सुरु गरिएको हो ।
उनले गत वर्ष कार्यालयको बगैँचामा प्रयोग गरिएको जैविक झोलले स्याउमा देखिने ढुसी तथा ब्याक्टेरियाजन्य रोग नियन्त्रणमा प्रभावकारी नतिजा दिएको बताए । स्वस्थकर, वातावरणमैत्री, कम खर्चिलो र स्थानीयस्तरमै तयार गर्न सकिने भएकाले किसानलाई यसको प्रयोगमा प्रोत्साहन गरिएको उनले जानकारी दिए ।
उनका अनुसार ५० प्रतिशत तितेपातीसँगै कोते, झिम्सी र राईघाँस मिसाएर ओखलमा कुटी निचोरेर तयार पारिएको झोललाई तीन दिनसम्म ३० डिग्री सेल्सियस तापक्रममा राख्दा अमिलो बन्छ । एक किलो घाँसबाट करिब तीन लिटरसम्म झोल उत्पादन गर्न सकिन्छ । एक बोतल झोललाई ४० लिटर सफा पानीमा मिसाएर बिरुवामा छर्कन मिल्ने बताइएको छ ।
परियोजनाका प्रमुख गौतमले यसरी तयार गरिएको जैविक झोलमा बोटबिरुवाका लागि आवश्यक मित्रजीव सक्रिय हुने र हानिकारक जीवाणु नष्ट हुने क्षमता रहेको बताए । उनले दुई वर्षअघि जापानमा अध्ययनका क्रममा सिकेको यो प्रविधि पोखराको कास्कीकोटस्थित कुखुरा फार्ममा पनि प्रयोग गरिसकेका छन् ।
परियोजनाका प्राविधिक गणेश जिसीले मुस्ताङमा सफल परीक्षण भइसकेपछि म्याग्दी, पर्वत र बागलुङका सुन्तला बगैँचामा पनि यसको प्रयोग विस्तार गर्न किसानलाई तालिममार्फत सीप सिकाइँदै आएको बताए ।
उनले जैविक झोलको प्रयोगले मुस्ताङको स्याउ तथा म्याग्दी, पर्वत र बागलुङका सुन्तलाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने बताए । साथै महँगो रासायनिक विषादीको प्रयोग घट्दा किसानको खर्च बचत हुनुका साथै स्वास्थ्य र वातावरणमा पर्ने जोखिम पनि कम हुने उनको भनाइ छ ।
परियोजनाले मुस्ताङमा रासायनिक विषादीको आयात प्रतिस्थापन गर्दै स्याउ उत्पादनलाई पूर्ण रूपमा जैविक बनाउने लक्ष्य लिएको छ । गत वर्ष ७५ जना र यस वर्ष ८५ जना स्याउ किसानलाई जैविक झोल बनाउने तालिम दिइएको छ । कृषि विकास कार्यालयमार्फत थप किसानलाई पनि सीप हस्तान्तरण गरिएको परियोजनाले जनाएको छ ।
हाल परियोजनामार्फत मुस्ताङमा स्याउ, च्याङ्ग्रा र आलु, म्याग्दीमा सुन्तला, आलु र बङ्गुर तथा पर्वत र बागलुङमा सुन्तलाको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालनमा छन् । परियोजनाले खेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि तथा बजारीकरणमा सहयोग गर्दै आएको छ ।