काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिको काम कारावाहीको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले पार्टी सभापति रवि लामिछानेसँग गुनासो गरेका छन् ।
रास्वपाका कोसी प्रदेशका सांसदले शुक्रबार पार्टी सभापतिसँगको छलफलमा यस्तो गुनासो गरेका हुन् ।
छलफलका क्रममा सांसदले प्रधानमन्त्री बालेनद्र शाह, मन्त्रीहरू र सरकारका कामकारबाहीको चर्को आलोचना गरेका थिए । छलफलको सुरुवातमै सभापति लामिछानेले सरकारका विषयमा भएको गुनासो निर्धक्क भएर सुनाउन ‘फ्लोर ओपन’ गरेका थिए ।
छलफलमा सहभागी सांसदहरूका अनुसार, कोसी प्रदेशका सांसदले आफ्नो गुनासो प्रधानन्त्री र मन्त्रीलाई सुनाउन नपाएको सभापति लामिछानेलाई सुनाएका थिए ।
‘प्रधानमन्त्री र मन्त्रीका सचिवालयले जनगुनासोको सुनुवाइ नगर्दा हामीलाई अप्ठ्यारो भएको छ,’ बैठकमा सहभागी सांसदको भनाइ उद्धृत गर्दै रास्वपाका एक सांसदले भने, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयमा हाम्रो एक्सेस भएन । हामीलाई रेस्पोस्न नै गर्नुभएन ।’
प्रधानमन्त्री र मन्त्रीसँग भेटघाट समेत गर्न नपाएको उनीहरूको भनाइ थियो । अझ प्रधानमन्त्री र मन्त्रीका सचिवालयले समेत नटर्ने गरेको रास्वपा सांसदले सभापति लामिछानेसँग गुनासो गरेका छन् ।
सांसदका गुनासो सुनेपछि रास्वपा सभापति लामिछानेले यसको सम्बोधन गर्ने आश्वासन दिएका छन ्। ‘तपाईहरूले उठाएका विषयमा प्रधानमन्त्रीसँग कुराकानी गर्नेछु, कसरी हुन्छ, सहज बनाउनेछु,’ लामिछानेको भनाइ थियो ।