काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३३ हजार आठ सय ५१ जनाले पुनर्योगका लागि निवेदन दिएका छन् ।
बोर्डले एसइईको नतिजा गत वैशाख २८ गते सार्वजनिक गरेको थियो ।
पुनर्योगको लागि जेठ एक गतेदेखि सात गतेसम्मको म्याद दिइएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार पुनर्योगका लागि निवेदन दिनेहरुको उत्तरपुस्तिका खोजी कार्य सुरु भएको छ ।
उत्तर पुस्तिका खोजीसकेपछि पुनर्योगका लागि निवेदन दिनेहरुको उत्तरपुस्तिका सम्बन्धित विषय विज्ञलाई देखाएर अध्ययन गरिने बोर्डका परीक्षा नियन्त्रक (कक्षा –१०) टुकराज अधिकारीले बताए।
उहाँका अनुसार विषय विज्ञले उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षार्थीले हल गरेको सबै प्रश्नको उत्तरको लागि अङ्क दिइएको छ कि छैन भनेर हेर्नेछन् । त्यस्तै, दिइएको अङ्क पनि जोड्न छुटेको छ कि भन्नेतर्फ पनि अध्ययन गर्नेछन् ।
त्यसपछि बोर्डका अधिकृतले हस्ताक्षर गरेपछि पुनर्योगका लागि निवेदन दिनेहरुको नतिजा फरक आए पनि नआएपनि बोर्ड बैठक बसेर सार्वजनिक गर्ने निर्णय गरिनेछ ।
यि सबै प्रक्रिया पुरा गरेर नतिजा सार्वजनिक हुन केहि समय लाग्ने परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए ।
पुनर्योगको नतिजा सकेसम्म छिटो प्रकाशन गर्नका लागि बोर्डका कर्मचारीहरु कुनै बिदा पनि उपयोग नगरी साँझ बिहानसमेत पूरा क्षमता लगाएर कार्य गरिरहेका छन् ।
पुनर्योगको लागि निवेदन दिएकामध्ये धेरैको जिज्ञासा उत्तर पुस्तिका हेर्ने र पुन परीक्षण गर्ने कहिले भन्ने रहेको बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रक अधिकारीले भने, ‘हामी परीक्षार्थीलाई केहि दिन धैर्य गर्न अनुरोध पनि गर्दछु । पुनर्योगको नतिजा प्रकाशनपश्चात् कपि हेर्ने निवेदनका लागि सूचना प्रकाशन हुने र कपि हेरिसकेपछि सोसँगसँगै पुनपरीक्षणको निवेदनसमेत दिने व्यवस्था हुनेछ ।’