काठमाडौँ । घरजग्गा कारोबारलाई थप व्यवस्थित, पारदर्शी र कानुनी दायराभित्र सञ्चालन गर्ने उद्देश्यले भूमिव्यवस्थापन तथा अभिलेख विभागले इजाजतपत्र प्राप्त संस्था तथा एजेन्सीलाई लक्षित गर्दै एकदिने तालिम कार्यक्रम सञ्चालन गरेको छ।
विभागले वित्तीय जानकारी इकाई र घरजग्गा एजेन्ट तथा एजेन्सी महासंघको सहकार्यमा आयोजना गरेको उक्त तालिमको व्यवस्थापन महासंघले गरेको हो । घरजग्गा कारोबारलाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले सम्पत्ति शुद्धीकरणको संवेदनशील क्षेत्रका रूपमा राख्दै आएको छ।
नेपाल हाल ग्रे लिस्टमा परेकाले सरकारले यस क्षेत्रलाई कानुनी दायरामा ल्याउन गत वर्षदेखि घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य गर्ने व्यवस्था लागु गरेको थियो।
कार्यक्रममा बोल्दै वित्तीय जानकारी इकाईका निर्देशक हरि नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी प्रावधान, शंकास्पद कारोबार पहिचान गर्ने तरिका, वित्तीय जानकारी इकाईमा प्रतिवेदन बुझाउने प्रक्रिया तथा इजाजतप्राप्त संस्थाले भू–सेवा सञ्चालन गर्ने विषयमा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए।
उनले घरजग्गा व्यवसायलाई थप मर्यादित, पारदर्शी र कानुनी दायराभित्र सञ्चालन गर्न घरजग्गा एजेन्ट तथा एजेन्सीले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए।
इजाजतपत्र प्राप्त गरेपछि एजेन्ट तथा एजेन्सीलाई अधिकारसँगै दायित्व पनि प्राप्त हुने भएकाले कानुनी प्रावधान पालना गरेर कारोबार गर्दा एजेन्ट, एजेन्सी, क्रेता, विक्रेता तथा सरकार सबै पक्षलाई सहज हुने उनको भनाइ थियो।