काठमाडौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियामावली ल्याउन लागेको जानकारी दिए।
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकोले नियमन गर्नको लागि नियमावली ल्याउन लागेको जानकारी दिए।
उनकाअनुसार शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानून मन्त्रालयमा पठाएको छ। ती मन्त्रालयहरूको स्वीकृत तथा रायपछि मन्त्रिपरिषदमा पेश गरिने उनले जानकारी दिए।
‘फरेन युनिभर्सिटी एफिलिएटेड कलेजहरूको बारेमा धेरै नै गुनासोहरू आउने गरेको छ। हामीले फाइनल ड्राफ्ट कानुन मन्त्रालयमा पठाइसकेका छौं। सुरूमा अर्थ मन्त्रालय पठाएका थियौं, अर्थ मन्त्रालयबाट टिप्पणीसहित फिर्ता आइसकेपछि त्यो कानुन मन्त्रालय जान्छ र त्यो मन्त्रिपरिषदमा हामीले नियमावली बनाएर ड्राफ्ट तयार गरिसकेका छौं,’ उनले भने।
विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको उनको भनाई छ। विदेशी विश्वविद्यालयसम्बद्ध कलेजलाई कुन आधारमा सम्बन्धन दिने, कुनलाई नदिने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषय नियमावलीमार्फत स्पष्ट गर्ने उनले बताए।