सोमवार, श्रावण २५ गते २०८३

मधेशको दाईजो प्रथाको असर अन्यत्र पनि देखिन थाल्यो – उपसभामुख ठाकुर

आइतवार , जेठ १०, २०८३

सर्लाही । उपसभामुख रुबिकुमारी ठाकुरले मधेशमा दाइजो प्रथा गहिरो रूपमा फैलिएको र यसको असर अहिले देशका अन्य क्षेत्रमा पनि देखिन थालेको बताएकी छन् ।

दाइजो प्रथाविरुद्ध अन्तिम साससम्म संघर्ष जारी राख्ने बताउादै सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी बृहत् सभामा ठाकुरले व्यवहारमा परिवर्तन नआएसम्म यस्ता सामाजिक विकृति अन्त्य हुन नसक्ने बताइन् । 

छोरीलाई पनि छोरा सरह शिक्षा र अवसर दिनुपर्नेमा जोड दिँदै उनले अभिभावकले बुहारीलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने धारणा राखिन् ।

‘बाल विवाह जिन्दगी तबाह, दाइजो हटाऔं, छोरी बचाऔं’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै ठाकुरले दाइजोका कारण विशेषगरी मधेश क्षेत्रमा छोरीमाथि हिंसा बढिरहेको उल्लेख गरिन् ।

दाइजोको दबाबकै कारण धेरै छोरी र बुहारीले ज्यान गुमाउनुपरेको तथा गर्भमै छोरी हत्या हुने अवस्था समेत देखिएको उनको भनाइ थियो ।

कतिपय अभिभावकले अझै पनि छोरीलाई बोझका रूपमा हेर्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै ठाकुरले छोरी अभिशाप नभई वरदान भएको स्वीकार गर्न समाज तयार हुनुपर्ने बताइन् ।

कार्यक्रममा सर्लाही क्षेत्र नं. – १ बाट निर्वाचित सांसद नितिमा भण्डारी कार्कीले दाइजो प्रथा अन्त्यका लागि महिलासँगै युवापुस्ताको सक्रिय भूमिका आवश्यक रहेको बताइन् ।

गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले २० वर्ष पूरा भएपछि मात्रै छोरीको विवाह गर्ने अभिभावकलाई गाउँपालिकाले सम्मान गर्दै आएको जानकारी दिए । उनका अनुसार गाउँपालिकाले पछिल्ला चार वर्षदेखि कक्षा १२ उत्तीर्ण गरी २० वर्षपछि विवाह गर्ने छोरीलाई ५० हजार रुपैयाँ प्रोत्साहनस्वरूप उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, कक्षा १२ पछि स्नातक अध्ययन गर्ने छोरीलाई ११ हजार रुपैयाँ सहयोग दिने व्यवस्था गरिएको उनले बताए ।

हालसम्म १५७ जना छोरीलाई ५० हजार रुपैयाँ तथा १९७ जनालाई ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराइसकिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा ३५४ जना छोरी तथा उनीहरूका परिवारलाई उपसभामुख ठाकुरको हातबाट सम्मान गरिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार