बुधवार, आश्विन १४ गते २०८३

दश महिनामा ३५ अर्बको धानचामल आयात

सोमवार , जेठ ११, २०८३


काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को १० महिनामा ३५ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि वैशाखसम्म ५१ अर्ब २५ करोड ८६ लाख ७५ हजार रुपियाँ बराबरको कुल खाद्यान्न (धान, चामल, मकै, गहुँ, कोदो, जौ) आयात हुँदा ३५ अर्ब ४५ करोड रुपियाँ बराबरको धानचामल आयात भएको हो । 
गत वर्षको सो अवधिमा ५२ अर्ब ६१ करोड ९० लाख रुपियाँको कुल खाद्यान्न आयात हुँदा ३५ अर्ब ५३ करोड रुपियाँको धानचामल आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सो अवधिमा आठ करोड रुपियाँ बराबरको कम धानचामल आयात भएको विभागको तथ्याङ्कले देखाएको छ । 

विभागका अनुसार १० महिनामा १७ अर्ब ६५ करोड ४४ लाख ४१ हजार रुपियाँ बराबरको दुई लाख २७ हजार ४६६ मेट्रिक चामल र १७ अर्ब ८० करोड ६६ लाख १७ हजार रुपियाँ बराबरको चार लाख ५२ हजार मेट्रिक टन धान आयात भएको छ । चामलको तुलनामा १५ करोड रुपियाँ बराबरको धान बढी आयात भएको छ ।

धानको बिउका लागि समेत आयात हुने गर्छ । १७ अर्ब ८० करोड रुपियाँको धान आयात हुँदा १० अर्ब ५८ करोड ८४ लाख रुपियाँ बराबरको दुई लाख ४४ हजार ४६० मेट्रिक टन धान बिउका लागि आयात भएको छ ।  

यस्तै १० महिनामा १० अर्ब ४१ करोड ४८ लाख १२ हजार रुपियाँ बराबरको दुई लाख ४८ हजार २२३ मेट्रिक टन मकै, तीन अर्ब ५२ करोड ६९ लाख चार हजार रुपियाँ बराबरको ७२ हजार ७६४ मेट्रिक टन गहुँ र ५१ करोड ४० लाख ५८ हजार रुपियाँ बराबरको १० हजार १९५ मेट्रिक टन कोदो आयात भएको छ । पछिल्लो समय कोदोको उपभोग बढ्दै गएकाले स्थानीय उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट आयात हुने गरेको छ । 

यस्तै २५ करोड ३९ लाख १० हजार रुपियाँ बराबरको तीन हजार ३६ मेट्रिक टन जौ आयात हुने गर्छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा खाद्यान्न आयात भएको हो ।

काम गर्ने जनशक्ति अभावले गर्दा खेतीयोग्य जमिन बाँझो हुँदै गएपछि स्थानीय माग धान्नका लागि बर्सेनि ठुलो परिमाणमा खाद्यान्न आयात हुने गर्छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार