काठमाडौं । नेपालबाट वैदेशि अध्ययनमा जाने विद्यार्थी संख्या घटेको छ । आर्थिक सर्वेक्षणका अनुसार गत वर्षको तुलनामा यस वर्ष यस्ता विद्यार्थी दश प्रतिशतले घटेका हुन् ।
बुधबार अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिने विद्यार्थीको सङ्ख्या ८५,३०६ रहेको छ ।
यद्यपि, अघिल्लो वर्षको सोही अवधि (१ लाख २३ हजार ५ सय ८९) को तुलनामा यो सङ्ख्या केही घटेको छ । नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या १०.९ प्रतिशतले वृद्धि भई ७ लाख ४५ हजार ७ सय ७० पुगेको छ ।
उच्च शिक्षामा सबैभन्दा बढी व्यवस्थापन संकायमा ५०.५ प्रतिशत विद्यार्थी छन् भने कृषि संकायमा सबैभन्दा कम ०.१५ प्रतिशत मात्र विद्यार्थी रहेका छन् । यसले प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण वा पहुँच कम रहेको देखाउँछ ।