काठमाडौं । नेपाल उद्योग परिसंघले मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्यमा भएको उच्च वृद्धि नेपाली अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पारिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ।
परिसंघका अनुसार मध्यपूर्वमा युद्ध सुरु हुनुअघि फागुन १५ गते डिजेलको मूल्य प्रतिलिटर रु। १ सय ३९ रहेकोमा हाल बढेर रु। २ सय २५ पुगेको छ। त्यसैगरी बिटुमिनको मूल्य प्रतिकेजी रु। ७५ बाट बढेर रु। १ सय ५५ पुगेको छ।
नेपाल निर्माण व्यवसायी महासंघले दिएको जानकारीअनुसार डिजेल, मट्टितेल, बिटुमिनलगायत निर्माण सामग्री तथा ढुवानी लागतमा अत्यधिक वृद्धि हुँदा निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको छ। मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले हालसम्म रु। १० अर्बभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको महासंघले जनाएको छ।
निर्माण परियोजना प्रभावित हुँदा यससँग प्रत्यक्ष सम्बन्धित अन्य उद्योग तथा व्यवसायमा समेत शिथिलता आउन सक्ने परिसंघको भनाइ छ। निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबाब कम गर्न तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन उनीहरूको समस्यालाई उचित रूपमा सम्बोधन गर्न परिसंघले सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।