काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक तनहुँको बन्दीपुरमा सुरु भएको छ। नेकपाको ११ औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा आजदेखि सुरु भएको हो।
बैठकमा सहभागी हुन महासचिव विप्लव बिहीबार बन्दीपुर पुगेका थिए। बैठक यही असोज ५ गतेसम्म सञ्चालन हुने नेकपाका जिल्ला सचिव एटमले जानकारी दिए। बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना आफैँले मेस चलाउने उनले बताए।
बैठक हल होटल सञ्चालकले नि:शुल्क उपलब्ध गराएको बताइएको छ। बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन्। होटलमा केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी १५० जना छन्।
बैठककक्षमा पत्रकारलाई प्रवेश नदिइने र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको एटमले जानकारी दिए। बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने भएको छ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक केन्द्रीय समिति बैठक गर्न लागेको हो।