काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पार्टी स्थापनाको क्रममा बाँडिएको जिम्मेवारीलाई स्थायी नमान्न पार्टीका सदस्यहरुलाई आग्रह गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामिछानेले पार्टी स्थापनाको चार वर्षभित्रमा यस्तो प्रवृत्तिले जरो गाड्न खोज्नु चिन्ताजनक भएको पनि बताएका छन् ।
शनिबारदेखि नै रास्वपाको जिल्ला अधिवेसन पनि सुरु भएको छ । अधिवेसनमार्फत नेतृत्व चयन प्रक्रियालाई सहज होस भनेर लामिछानेले यो सन्देश दिएका हुन् ।
लामिछानेले पार्टी स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताए ।
उनले भने, ‘चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ ।’ अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र भनई पार्टीको अनन्तकालीन जीवन, विधि–पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर भएको पनि लामछिानेले बताएका छन् ।
उनले लेखेका छन्, ‘पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक छ । सम्बाद सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार हो । यही प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जान्छ ।’
रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिएको बताउँदै लामछिानेले त्यसका लागि विचार मात्र होइन, हाम्रो शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्ने बताए । पुरानै सोच, शैली र प्रवृत्ति बोकेर नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न नसक्ने पनि उनले बताए ।