आइतवार, आश्विन २५ गते २०८३

बजेट प्रतिस्थापन विधेयक पारित गर्ने तयारी, आज के गर्ला एमाले?

सोमवार , आश्विन ४, २०७८

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

नेकपा एमालेको अवरोधका कारण यसअघि नियमित सञ्चालन हुन नसकेको बैठक आजका लागि बोलाइएको छ। आज ११ बजेका लागि बोलाइएको बैठकमा बजेटप्रतिस्थापन विधेयकमाथि छलफल गरि पारित गर्ने कार्यसूची रहेको छ।

प्रमुख प्रतिपक्षी दल एमालेको विरोधबीच सरकारले आजको बैठकमा विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो। आज बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकअन्तर्गत सम्पूर्ण शीर्षकमाथि छलफल गर्ने र आजै पारित गर्ने सरकारी तयारी छ।

एमालेको नाराबाजीकै बीच भदौ २७ गतेको बैठकमा प्रतिस्थापन विधेयक मार्फत बजेट संशोधन गरेको थियो। बजेट पारित हुन नसक्दा भदौ ३० गतेदेखि मुलुकमा ‘बजेट होलिडे’ चलिरहेको छ।

एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ। उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरिसकेको छ।

एमालेले भदौ २३ गतेदेखि संसदमा निरन्तर अवरोध र नाराबाजी गर्दै आएको छ। सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन भनी गरेको सर्वदलीय बैठकसमेत एमालेले बहिस्कार गरेको थियो। एमालेले आजको बैठक पनि अवरुद्ध गर्ने भएको छ। आजको बैठकमा सरकारले प्रतिस्थापन बजेट पारित गर्ने योजना बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार