आइतवार, कार्तिक ९ गते २०८३

संखुवासभाको मादीमा ६ जनाको हत्यामा ५ जनाको संलग्नता : यसरी भएको रहेछ हत्या 

सोमवार , आश्विन ४, २०७८

काठमाडौं। संखुवासभामा ६ जनाको सामुहिक हत्याकाण्डको मुख्य योजनाकारलाई प्रहरी सोमबार सार्वजनिक गरेको छ। सोमबार सङ्खुवासभा प्रहरीले घटनामा ५ जनाको संलग्नता रहेको र मुख्यो योजनाकारलाई पनि सार्वजनिक गरेपछि घटनाबारे नयाँ ट्वीष्ट आएको छ।

प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार यसअघि पक्राउ परेका आरोपी लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की रहेको खुल्न आएको छ। खड्गकै योजनामा खड्गबहादुरका छोरा हस्तबहादुर, लोकबहादुर, लोकबहादुरका बुवा रणबहादुर र लोकबहादुरका भाइ नरेश कार्कीले हत्या गरेको खुलासा भएको हो।

आरोपीहरू पाँचै जनालाई तेजबहादुरले हेप्ने गरेको, गाली गर्ने गरेको र तेजबहादुरको घरमा सम्पत्ति रहेको थाहा पाएपछि हत्या गरी लुटपाट गर्नेसम्मको योजना बनाएका थिए। यसअघी मानसकि रोगी समेत रहेका लोकबहादुरलाई प्रहरीले हत्यारा भनी सार्वजनिक गरेको थियो।उनिहरुले मानसिक समस्या रहेका लोकबहादुरलाई देखाएर आफुहरु उम्किने प्रयास गरेका थिए। तर उनै लोकबहादुरले उनिहरुको पोल खोले। 

आफुहरुलाई हेप्ने कारण हत्या गरेको बताएका हत्या आरोपितहरुको बयान उल्लेख गर्दै प्रहरीले आरोपीहरू मध्ये खड्गबहादुर नियमित रूपमा मदिरा पिउने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गाली गलौज गर्ने र तेजबहादुरले ‘तँ जँड्याहा किन यसो गर्छस’ भनी गाली गर्ने र खड्गबहादुरले पनि ‘तँलाई के मतलब तलाईं मार्छु’ भन्दै झगडा गर्ने गरेको पाइएको जनाएको छ। 

त्यसै गरी लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस’ भन्ने गरेकाले लोक बहादुरले इख लिई बसेको पाइएको छ। त्यसै गरी नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भइस’ भन्ने र रण बहादुरलाई समेत ‘तँ लठेब्रो केही गर्नै सक्दैनस’ भन्ने गरेको, जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ती दिने गरेको भनी मनमा ईख पालेको र घटनाको दिन आरोपीहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोही मौका छोपी योजना बनाई हत्या गरेको पाइएको छ। 

हत्यामा पाँच जनाको संलग्नता रहेको भए पनि कुनै कारणवश प्रहरीले पत्ता लगाएमा जसलाई पत्ता लगाउँछ उसैले मात्रै जिम्मा लिने योजना बनाएको पाइएको छ। घटनाका बारेमा अन्य कसैले केही नभन्ने र लोक बहादुरले डिप्रेसनको औषधि खाइरहेको कारण उसैले जिम्मा लिने योजना बनाएको पाइएको छ। लोक बहादुर मानसिक रोगी रहेको भन्दै उनलाई धेरै कारबाही नहुने भन्दै लोकबहादुरले घटनाको जिम्मा लिएका थिए र सुरुमा घटनामा आफ्नो मात्रै संलग्नता रहेको बताएका थिए। 

तर लोकबहादुरका भाइ नरेश कार्कीले घटनापश्चात् हराइरहेको रञ्जनाको ओप्पो कम्पनीको मोबाइल चलाएपछि घटनामा नयाँ ट्वीष्ट आएको थियो। भदौ २९ गते घरमुनिको ओडारमा लुकाएको मोबाइल नरेशले चलाएपछि प्रहरीले नरेशलाई पक्राउ गरेको थियो। तर पक्राउपछि नरेशले घरमै पाएकाले चलाएको बयान दिएपनि प्रहरीले थप केरकार गर्दा आरोपी लोकबहादुरले घटनामा ५ जनाको संलग्नता रहेको बयान दिएका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार