काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको सबै तहका कमिटीको नेतृत्व निर्वाचनबाट चुन्ने भएको छ। माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो।
माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ। तल्ला कमिटीका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुनेछ। निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ।
माओवादी केन्द्रीय कार्यालय इञ्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरूमा निर्वाचनमार्फत् नेतृत्व चयन हुने जानकारी दिए।