काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश भएको छ। काठमाडौंमा भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रतिवेदन पेश गरेका हुन्। प्रतिवेदनमाथि समूहगत छलफल हुने र त्यसको निष्कर्ष भोलिको बैठकमा पेश हुने जनाइएको छ।
बैठकलाई सम्वोधन गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू ओलीको षड्यन्त्रमा नफसेको कारण आफ्नो पार्टीमा युवाहरूको आकर्षण बढेको बताएका छन्। बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘दुई प्रदेशमा ओलीभन्दा ठूलो पार्टी बनेका छौँ।
हामीले केपी ओली गुटलाई धक्का दिएका छौँ। हामी अत्यन्तै मिहिनेत गरेर ओलीको असफल बनाउन सफल भएका छौँ। प्रदेश १ मा र बागमती प्रदेशमा पनि हाम्रो सरकार बने तयारी भइरहेको छ। देशभर हामीले संगठन विस्तार बनाउन लागिसकेका छौँ। युवाहरूलाई ऊर्जाको साथ हामीप्रति आकर्षण बढिरहेको छ।’
एमाले एकताको धेरै प्रयास गर्दा पनि ओलीले गुटकै कारणले असफल भएको बताए। सम्मानजनक एकता नभएर विभाजन बाहेकको अर्को विकल्प नभएको स्थायी कमिटी र केन्द्रीय कमिटीको निष्कर्ष रहेको उनको भनाइ छ।