काठमाडौं ।अबदेखि सरकारी कर्मचारीले कार्यालयभित्र टिकटक बनाउन नपाउने भएका छन् । साथै, उनीहरुले सरकरको विरोध तथा अलोचना पनि गर्न पाउने छैनन् ।
सरकारले जारी गरेको आचारसंहितामा यस्तो व्यवस्था गरिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै आचारसंहिता जारी गरेको हो ।
निजामती कर्मचारीहरूको कार्यशैलीलाई मर्यादित र अनुशासित बनाउन आचारसंहिता जारी गरेको सरकारी दाबी छ । आचारसंहिताले कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोग, व्यक्तिगत आचरण र सेवाग्राहीसँगको व्यवहारमा कडा सीमाहरू तोकेको छ ।
सरकारी कार्यालयमै टिकटक बनाउने र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ । कार्यालय समयमा वा कार्यालयको पोसाक लगाएको अवस्थामा फेसबुक, टिकटक वा अन्य सामाजिक सञ्जालका लागि फोटो वा भिडियो खिच्न र सार्वजनिक गर्न पाइने छैन ।
फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा सरकारको नीति वा निर्णयको आलोचना गर्न, अपमानजनक टिप्पणी गर्न वा जनतामा भ्रम र अविश्वास पैदा हुने सामग्री पोस्ट वा सेयर गर्न निषेध गरिएको छ।
अनलाइन समाचार वा सामाजिक सञ्जालका पोस्टमा कुनै पनि निकायका पदाधिकारीलाई आँच पुग्ने गरी व्यङ्ग्य वा नकारात्मक टिप्पणी गर्न रोक लगाइएको छ।
कर्मचारीको नैतिक आचरण सुधार्न आचारसंहिताले व्यक्तिगत जीवनका केही पक्षलाई पनि समेटेको छ । कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, जुवातास खेल्न, धूमपान गर्न वा कुनै पनि अमर्यादित कार्य गर्न निषेध गरिएको छ ।
मन्त्रालयको पूर्व स्वीकृतिविना कुनै पनि व्यक्ति वा संस्थाबाट उपहार, दान वा आतिथ्यता स्वीकार गर्न नपाइने, सेवाग्राहीसँग कार्यालय बाहिर भेटघाट गर्न र कुनै पनि एजेन्ट वा बिचौलियासँग सम्पर्क गर्न पाइने छैन ।
कार्यालयमा रहँदा तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने, कार्यालय समयमा बाहिर जानुपर्दा प्रमुखको अनुमति लिएर ‘लगबुक’ भरेर निस्कनुपर्ने पनि आचारसंहितामा उल्लेख छ ।