आइतवार, श्रावण २४ गते २०८३

गणेश नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान सुझाव

शुक्रवार , आषाढ २६, २०८३

 
काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई थप उपचारका लागि तत्काल भारत नलैजाने भएको छ । 
 
प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उनका उपचारमा संलग्न चिकित्सकले सुरुआतमा दिएको सुझावअनुसार नेपालीलाई भारतको नयाँदिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरिएको थियो ।
 
यसका लागि गृहमन्त्री सुदन गुरुङ स्वयं अहोरात्र खटिएका थिए । साथै सरकारले जलनका बिरामी नेपालीका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरेको थियो । त्यसअघि नेपालीको उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाट ब्यहोर्ने निर्णय समेत गरिएको थियो ।
 
वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा ‘भेन्टिलेटरमा रहनुभएका नेपालीको उपचार जारी रहेको र  यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उहाँलाई तत्काल भारत नलग्ने भएको हो । 
 
चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै थप उपचार गर्न भारत लैजान सुझाव दिनुभएको छ । गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा  गएरातिदेखि निरन्तर खटेका थिए ।
 
 
बिहीबार दिउँसो ३ः०० बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलन भएको जनाइएको छ । 
 
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालका नेतृत्वमा युनिट प्रमुख डा अपार लामिछाने, क्रिटिकल केयरका डा निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा डा रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली नेपालीको उपचारमा सम्लग्न रहेका छन  । 

प्रतिक्रिया
सम्बन्धित समाचार