काठमाडौँ । मनाङको हिम्लुङमा हिम पहिरोमा परेर मृत्यु भएको दुई जनाको पहिचान खुलेको छ । आइतबार हिम पहिरोमा परेर सम्पर्कविहीन भएकाहरू मध्येका २ जनाको शव भेटिएको हो ।
मृत्यु हुनेहरुमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ घर भएका क्षेपी भोटे र सोही गाउँपालिकाको वडा नम्बर–२ घर भएका ३१ वर्षीय पासाङ भोटे छन् । उनीहरूको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मनाङका इन्स्पेक्टर बिनोद बोहराले बताए । कैलाश हेलिकप्टरमार्फत शव काठमाडौँको त्रिवि शिक्षण अस्पताल ल्याइएको हो ।
मृतक दुवैजना टुरिष्ट गाइड हुन् । हिम पहिरो खसेको क्षेत्रमा खोज तथा उद्धार जारी छ । कैलाश हेलिकप्टरमा उद्धारकर्मी पठाएर खोजी कार्य जारी राखिएको इन्स्पेक्टर बोहराले बताए । सो क्षेत्रमा केही मानिसहरू सम्पर्कविहीन भएका छन् । हिम पहिरो नार्पाभूमि गाउँपालिका–५ मा गएको हो ।