काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले सुनसरीमा घटेको दुःखद् घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई चाँडो भन्दा चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार राति सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो प्रतिबद्धता गरेका हुन् । सुनसरीमा सामान्य विषयबाट सुरु भएको विवादले उग्र रूप लिँदा मानवीय क्षति हुनुका साथै समाज अशान्त बनेको भन्दै उनले घटनाका कसुरदारहरूलाई कानुनबमोजिम कडा कारबाही गरिने र यस्ता घटना दोहोरिन नदिन सरकारले तत्काल आवश्यक निर्णय लिइरहेको बताएका छन् ।
प्रधानमन्त्रीका रूपमा मात्र नभई देशको एक नागरिकका रूपमा पनि सुनसरीको घटनाबाट आफू मर्माहत भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो परिवारका सदस्य गुमाएका पीडित परिवारको दुःख आफूले महसुस गरेको बताएका छन् । सरकार पीडितको साथमा रहेको र उनीहरूलाई सक्दो चाँडो न्याय तथा क्षतिपूर्ति दिलाउन सरकारले सम्पूर्ण शक्ति लगाउने उनको भनाइ छ ।
घटनाको सुरुआतदेखि नै सरकारले आफ्नो उपस्थिति देखाए पनि त्यो पर्याप्त हुन नसकेको स्वीकार गर्दै प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनुलाई गम्भीर रूपमा लिइएको बताएका छन् । सुरक्षाकर्मीको तर्फबाट भएको यस्तो क्षति कुनै पनि हालतमा सामान्य कुरा हुन नसक्ने स्पष्ट पार्दै उनले यसबारे सूक्ष्म अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनबमोजिम कारबाही हुने जानकारी दिए ।
सम्पूर्ण घटनाक्रमबारे सरकारले गम्भीरताका साथ समीक्षा गरिसकेको र नागरिकले पछि गएर सरकारका जिम्मेवार कदमहरूको महसुस गर्ने उनले विश्वास दिलाए ।
‘मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउनु हो,’ प्रधानमन्त्री शाहले भने । सरकारले यी सम्पूर्ण कार्यहरू यथासक्य चाँडो सम्पन्न गर्ने र परिणाममुखी बनाएर छाड्ने प्रतिबद्धता उनले दोहोर्याएका छन् ।
समाज भाँडिने र एक(अर्कासँग डराउनुपर्ने स्थिति मानवता बोकेको कसैका लागि पनि स्वीकार्य नहुने भन्दै प्रधानमन्त्री शाहले सबै नागरिकलाई संयम अपनाउन अपिल गरेका छन् ।
मनमा आक्रोश, रिस, डर वा बदलाको भावना भए पनि त्यसलाई हटाएर उत्तेजित हुने वा गराउने गतिविधिमा सरिक नहुन उनले आग्रह गरेका छन् । एक(अर्काप्रति प्रेम र सम्मान दर्साउँदै सामाजिक सद्भाव कायम राख्न र सुरक्षित भएर बस्न उनले सम्पूर्ण देशवासीमा अनुरोध गरेका छन् ।