आइतवार, आश्विन २५ गते २०८३

एमालेमा भएन १० बुँदे लागु, के गर्लान तेस्रो धारका नेता?

शुक्रवार , आश्विन ८, २०७८

काठमाडौं। नेकपा एमाले विभाजन हुँदा माधव नेपालको साथ छाडेर पार्टी रहेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्। आजबाट शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा नेताहरु भीमबहादुर रावल, झपट रावल, भानुभक्त जोशीलगायतले १० बुँदे सहमति कार्यन्वयनमा चाँसो राखेका हुन्। 

बैठकमा पार्टीका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्न माग गरेको नेता झपट रावलले जानकारी दिए।
उनका अनुसार पार्टीको अपानी कार्यान्वयन नभएकाले छलफल गर्नुपर्ने माग गरेको र १० बुँदे सहमति इमान्दारीपूर्वक कार्यान्वयन नहुने भए खारेज गर्न उपाध्यक्ष रावलले चुनौती दिएका छन्।

यी सबै विषयलाई लिएर आजको बैठकमा अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच सवाल जवाफसमेत भएको बताइएको छ। बैठकमा तेस्रो धारका नेताहरूले १० बुँदे सहमति र विधान महाधिवेशनका प्रतिनिधि छनोटबारे प्रश्न उठाएपछि अन्य नेताहरूले पनि उनीहरूको मागमा सहमति जनाएका थिए।

१० बुँदेबारे नेताहरुले प्रश्न राखेपछि अध्यक्ष ओलीले यस विषयमा स्थायी कमिटी बैठकमा छलफल गरेर समस्या समाधान गर्ने आश्वासन दिएको रावलले बताए। तेस्रो धारका नेताहरुले अध्यक्ष ओलीले दिएको आश्वासनमा विश्वस्त हुन सक्ने अवस्था नरहेको बताएका छन्।

एकता प्रस्ताव भन्दै गत असार २८ गते एमालेका १० नेता रहेको कार्यदलले १० बुँदे प्रस्ताव अघि सारेको थियो। जसमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील बनाउनुपर्ने मूल आशय थियो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार