काठमाडौं । बढ्दो विद्युत् माग व्यवस्थापन गर्दै सुरक्षित, भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न क्षेत्रमा सबस्टेशनको क्षमता विस्तार तथा विद्युत् पूर्वाधार सुदृढीकरणका कार्यलाई तीव्रता दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले विद्युत् प्रणालीको विश्वसनीयता अभिवृद्धि, सेवा सुधार तथा देखिएका समस्या शीघ्र समाधान गर्न निर्देशन दिएअनुसार प्राधिकरणले सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण सबस्टेशनहरूको क्षमता विस्तार सम्पन्न गर्नुका साथै पूर्वी नेपालमा नयाँ सबस्टेशन सञ्चालनको अन्तिम तयारीलाई तीव्र बनाएको हो ।
यसअन्तर्गत कैलालीस्थित पहलमानपुर ३३र११ केभी सबस्टेशन मा बढ्दो विद्युत् मागलाई मध्यनजर गर्दै थप १६.६ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडान गरी २०८३ साउन १६ गते सफलतापूर्वक चार्ज गरिएको छ । यसअघि उक्त सबस्टेशनमा ८ एमभीए क्षमताको एउटा मात्र पावर ट्रान्सफर्मर सञ्चालनमा रहेको थियो ।
नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै पहलमानपुर, सुखड, भजनी तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्तिको क्षमता, गुणस्तर र विश्वसनीयतामा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, कञ्चनपुरस्थित महेन्द्रनगर १३२ केभी सबस्टेशन मा रहेका दुईवटा ३० एमभीए, १३२र३३ केभी पावर ट्रान्सफर्मरलाई प्रतिस्थापन गरी दुईवटा ६३ एमभीए क्षमताका नयाँ पावर ट्रान्सफर्मर सफलतापूर्वक सञ्चालनमा ल्याइएको छ ।
यससँगै सबस्टेशनको कुल रूपान्तरण क्षमता ६० एमभीएबाट १२६ एमभीए पुगेको छ । क्षमता विस्तारपछि महेन्द्रनगर तथा आसपासका क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन, विद्युत् आपूर्तिको विश्वसनीयता, सञ्चालन लचकता तथा सेवा निरन्तरतामा उल्लेखनीय सुधार हुने प्राधिकरणले जनाएको छ ।
सुदूरपश्चिममा क्षमता विस्तारका कार्य सम्पन्न भएसँगै प्राधिकरणले अहिले मोरङस्थित केरौन १३२र३३र११ केभी सबस्टेशन लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गरी सञ्चालनमा ल्याउने अन्तिम तयारीलाई तीव्र बनाएको छ ।