काठमाडौं । नेपाल प्रहरीमा रिक्त एक एसएसपी दरबन्दीमा ४ जना प्रतिस्पर्धी देखिएका छन् ।
एसएसपी भीमबहादुर दाहाल ५५ वर्षको उमेर हद लागेर साउन १५ देखि अवकाश भएपछि एक दरबन्दी रिक्त छ । उनी कोशी प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान नियन्त्रण तथा अनुसन्धान महाशाखा विराटनगरमा कार्यरत थिए ।
२०५४ मंसिर १ गते असई दर्जामा भर्ना भएका दाहालले २०५८ साउन १८ मा इन्स्पेक्टरको खुला प्रतिस्पर्धामा उत्तीर्ण गरेका थिए । २०६७ पुस २३ मा डीएसपी, २०७५ फागुन ७ मा एसपी र २०८१ जेठ ३१ मा एसएसपी बढुवा भएका थिए ।
उनको अवकाशपछि इन्स्पेक्टर व्याच २०५८ का चारजना एसएसपीको दौडमा छन् । उक्त दर्जाको सरुवा र बढुवा गृहसचिवस्तरीय निर्णयबाट हुन्छ । गृह मन्त्रालयस्रोतका अनुसार हालसम्म रिक्त दरबन्दीमा बढुवाका निम्ति प्रहरी प्रधान कार्यालयसँग समन्वय भएको छैन । प्रहरी महानिरीक्षक (आईजीपी) सँग समन्वय भएपछि गृहसचिवको अध्यक्षतामा बढुवा समितिको बैठक बस्छ ।
रिक्त एक एसएसपीका लागि २०७७ माघ १२ को बढुवा सिफारिसमा एसपी भएका अधिकृतहरू प्रतिस्पर्धामा छन् । उक्त बढुवामा डीएसपीबाट एसपी भएका १६ जनामध्ये अधिकांश एसएसपीमा बढुवा भइसकेका छन् । बाँकी रहेका एसपीमध्ये क्रमशः वासुदेव खतिवडा, प्रजीत केसी, राजकुमार सिलवाल र वीरेन्द्रबहादुर शाही एसएसपीका प्रतिस्पर्धी हुन् । त्यसमध्ये खतिवडालाई जिल्ला प्रहरी कार्यालय इलाम हुँदा र सिलवाललाई मधेश प्रदेश ट्राफिकमा हुँदा त्रुटिपूर्ण कार्य गरेको भन्दै कारबाही गरिएको थियो । यद्यपि, उनीहरू नयाँ कार्यक्षेत्रमा कार्यरत छन् ।
त्यसैले प्रजीत केसी र वीरेन्द्रबहादुर शाही एसएसपी बढुवाका निम्ति बलिया दाबेदार मानिन्छन् । दुवै २०५८ का इन्स्पेक्टर हुन् । उनीहरू २०७० साउन ६ मा एकैसाथ डीएसपी बढुवा भएका थिए । खतिवडा र सिलवाल भने २०६९ फागुन १३ मा डीएसपी बढुवा भएका थिए । त्यसमध्ये खतिवडा असईको ‘पाँचौँ टोली’, अर्थात् २०५५ कात्तिक १ मा भर्ना भई २०५८ इन्स्पेक्टर उत्तीर्ण भएका हुन् ।