काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (आइतबार) पनि बस्दैछ।
शुक्रबारबाट काठमाडौँमा सुरु भएको बैठकमा शनिबार पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने तीन वटा दस्तावेज (राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्ताव) माथि समूहगत छलफल सकिएपछि आइतबार बिहान पुन: ११ बजे बैठक बस्ने गरी सकिएको थियो।
आजको बैठकमा दस्तावेजमाथि आएका सुझावमाथि पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रतिवेदन प्रस्तोताले प्रष्ट पार्ने बताइएको छ। त्यसपछि अध्यक्ष ओली र सुझाव पेश गर्न बनाइएका १० वटै समूहका समूह नेताबीच छलफल गरेर महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ।
शनिबारको बैठकमा दश वटा टोली नेतालगायत केही स्थायी कमिटी सदस्यहरुले विभिन्न बिषयमा सुझाब राखेका थिए।