काठमाडौं । मर्दी पदयात्रामा फसेका पोखराका ३ पदयात्रीको उद्धार गरिएको छ ।
अहिले बिहान १०ः५५ बजे एपीएफको टोलीले पोखरा–१४ खसीबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङलाई सकुशल उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका कास्कीका एपीएफ इन्स्प्क्टर साजन श्रेष्ठ नेतृत्वको टोलीले उनीहरूलाई अन्नपूर्ण गाउँपालिका–११ छुमरुङको फेदीबाट उद्धार गरिएको छ ।
उनीहरुले हिजो र अस्ति ओढारमा रात बिताएका थिए ।उनीहरु ट्रेकिङ क्रममा जङ्गलमा अलपत्र परेका थिए ।
मोदी खोलामा पानीको अत्यधिक बहाव रहेका कारण हिजो उद्धार गर्न सम्भव भएन । बिजुलीको लाइन काटी खोलावारी र खोलापारी रहेको बिजुलीको पोलमा रहेको तार हुँदै उनीहरु भएको ठाउँमा उद्धारकर्ता पुगेका थिए ।