काठमाडौं । नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका अटोमोबाइल सामग्री र सवारीसाधनलाई समेत प्राथमिकतामा राख्दै उक्त सोको आयोजना गरिएको हो ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८ औँ संस्करणको अटो शोको उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरे ।
उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्र कुनै पनि राष्ट्रको अर्थतन्त्रको मेरुदण्ड बनिसकेको बताउँदै अब नेपालमै सवारी साधन उत्पादन गरेर आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्ने बताए ।
नाडाको स्वर्ण जयन्तीका अवसरमा आयोजना गरिएकाले यो केवल व्यापारिक प्रदर्शनीमा मात्र सीमित नरही नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको सशक्त मार्गचित्र बन्नुपर्ने उनको भनाइ थियो।
उपराष्ट्रपति यादवले नेपाल जलस्रोतमा धनी भएकाले इन्धन आयातमा बाहिरिने अर्बौँ रुपैयाँ रोक्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनु नै सबैभन्दा बुद्धिमानी र दिगो उपाय भएको उनले बताए।
ईभी प्रवर्धनका लागि नीतिगत स्थायित्व, चार्जिङ स्टेसन लगायतका पूर्वाधार विकासमा सरकार र निजी क्षेत्र मिलेर काम गर्न आवश्यक रहेको उनको भनाइ छ।
समृद्ध र उन्नत नेपाल निर्माणका लागि निजी क्षेत्रको लगानी, सरकारको प्रोत्साहनमूलक नीति र नागरिक समाजको सकारात्मक सहयोग अपरिहार्य रहेको उनले बताए।
उनले नाडा अटो शोले नेपाली अटोमोबाइल क्षेत्रलाई आधुनिक प्रविधि, हरित ऊर्जा र आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख गराउन उत्प्रेरकको भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आयोजकलाई स्वर्ण जयन्तीको शुभकामना दिए।
दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डको सहभागिता रहेको छ। ती ब्रान्डले डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन् ।
यसपटकको अटो शोको मुख्य आकर्षणमध्ये नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ पनि रहेको छ ।