सोमवार, आश्विन १२ गते २०८३

हिमपहिरोमा थप दुई शव भेटिए, मृतक चार पुगे

सोमवार , आश्विन १२, २०८३

काठमाडौं ।मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप दुई जनाको शव भेटिएको छ ।

यससँगै हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार बुधबार बिहान कैलाश हेलिकप्टरमार्फत बेस क्याम्पबाट उद्धार गरिएका थप दुई शव प्रदेश अस्पताल चामेमा ल्याइएको छ । ती शवको पहिचान भने खुल्न सकेको छैन ।

यसअघि उद्धार गरिएका दुई शवको पहिचान संखुवासभाको भोटखोला गाउँपालिका–३ का करिब ५२ वर्षीय छेबि भोटे र भोटखोला–२ का करिब ३१ वर्षीय पासाङ भोटेको रूपमा भएको छ ।

उनीहरूको शव बुधबार बिहान ८ः१५ बजे कैलाश हेलिकप्टरमार्फत चामेबाट काठमाडौँस्थित टिचिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापनाका लागि भदौ ३० गते गएका २२ नेपालीमध्ये १० जना असोज ११ गते साँझ सकुशल फु गाउँ पुगेका थिए । बाँकी १२ जना हिमपहिरोपछि सम्पर्कविहीन भएका थिए ।

सम्पर्कविहीनमध्ये चार जनाको शव फेला परे पनि बाँकी आठ जनाको अवस्था अझै अज्ञात रहेको छ । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब तीन दिन उत्तरतर्फ पर्छ । दुर्गम र हिमाली भूगोलका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार