सोमवार, आश्विन १२ गते २०८३

चोलेन्द्रले मागे सुरक्षा, एआईजी भन्छन्- "सादा पोषाकमा प्रहरी खटाइसक्यौँ

सोमवार , आश्विन १२, २०८३

काठमाडौँ । पक्राउ परेर छुटेपछि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शान्ति सुरक्षा माग गरेका छन्। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र पठाउँदै आफ्नो र आफ्ना परिवारको सुरक्षा माग गर्दै निवेदन दिएका हुन्। आफू असुरक्षित भएको कुरा प्रहरीले पक्राउ गरेपछि नै थाहा पाएको उनका तर्फबाट छोरा सचिन्द्र शमशेर जबराले दिएको निवेदनमा उल्लेख छ। प्रहरीले शनिबार राति २ बजेतिर पक्राउ गरेर आइतबार दिउँसो २ बजे जबरालाई घरै लगेर छाडेको थियो।

देशको अवस्था, सामाजिक सञ्जाललगायत सञ्चार माध्यममा आएका कतिपय शान्ति सुरक्षासँग सम्बन्धित प्रश्नहरूको कारण आफू र आफ्नो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसूस गरेको उनको निवेदनमा उल्लेख छ।

निवेदनमा भनिएको छ, ‘मेरो विगतमा राज्यका अंगहरूमा बहन गरेका जिम्मेवारी, राज्यको न्यायपालिका प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णयलगायतका कारण पनि ममाथि थप असुरक्षाको महसूस भएको छ। मैले कतिपय कुराहरू हालका मितिमा यस कार्यालयमा आइसके पश्चात पनि जानकारी पाएँ। यस कारण मलाई सुरक्षा थप गरी पाउन यो निवेदन पेश गरेको छु।’ 

आफ्नो निवास, परिवार तथा जिउ ज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुगोस् भन्ने उनको माग छ। शनिबार राति निवासबाटै गिरफ्तारमा परेका जबरालाई प्रहरीले उनकै सुरक्षाका लागि ल्याएको दाबी गरेको छ। तर उनी कोबाट असुरक्षित भएको भन्ने प्रहरीले खुलाउन सकेको छैन। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी शुशीलसिंह राठौरले उनको सुरक्षामा थप प्रहरी परिचालन गरिसकेको बताए। ‘आइतबार निवेदन आएको थियो। त्यसपछि हामीले सादा पोषाकमा प्रहरी परिचालन गरेर निगरानी बढाएका छौँ’, राठौरले नेपालखबरसँग भने। 

चोलेन्द्रलाई धम्की दिने समूहबारे अनुसन्धान भइरहेको उनले बताए। ‘सुरक्षामा थ्रेट गर्ने समूहबारे पनि हामी प्लटिङ गर्दै छौँ’, पीडित भनिएकै व्यक्तिलाई लगिएको विषयमा राठौरले भने, ‘काम गरेपछि क्रिया प्रतिक्रिया भइहाल्छ।’

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने अहिलेसम्म आफ्नो कार्यालयमा निवेदन नआएको बताए। निवेदन प्राप्त भए प्रक्रिया अनुसार अगाडि बढ्ने उनले बताए।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार