काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै देशका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको विशेष मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ ।
महाशाखाले २०८३ साल भदौ ११ गते मध्याह्न १२ बजे जारी गरेको सूचनामा शुक्रबार र शनिबार देशका विभिन्न धार्मिक क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना औंल्याइएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित रसुवाको गोसाईंकुण्ड क्षेत्रमा शुक्रबार दिउँसो धेरै ठाउँमा अपराह्नदेखि मध्यम वर्षाको सम्भावना छ भने राति केही ठाउँमा मध्यम र एक–दुई ठाउँमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।
शनिबार दिउँसो पनि अपराह्नदेखि धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ । शनिबार राति केही ठाउँमा मध्यम तथा एक–दुई ठाउँमा भारी वर्षा हुने आकलन गरिएको छ ।