काठमाडौं। नेकपा एमालेभित्रको विवाद मिलाउन गठित कार्यदलको बैठक आज बस्ने भएको छ।
हिजो दिनभर बस्न नसकेको कार्यदल बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने तय भएको ओली पक्षबाट कार्यदल संयोजक सुवास नेम्बाङले जानकारी दिए। यसअघि बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो छलफल भएपछि एमाले विवाद टुंगिने दिशातर्फ अघि बढेको ठानिएको थियो।
विवाद मिल्ने संकेत प्राप्त भएको भन्दै उत्साहित बनेका कार्यदलका नेताहरु हिजो दिउँसो बैठक बसेर सहमतिको खाका कोर्ने प्रयास गरेका थिए। तर दिउँसोको बैठक एकैछिन बसेर साँझका लागि सरेको थियो।
तर साँझ सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्ने भनिएको बैठकमा कार्यदलका ओली पक्षका नेता विष्णु पौडेल उपस्थित नभएपछि बैठक स्थगित भएको हो। बैठकमा सहभागी हुन सिंहदरबार पुगेका नेपाल पक्षीय नेता घनश्याम भुसालले पछिल्ला दश दिनमा विवाद समाधानका लागि कुनै प्रगति नभएको खुलासा गरे ।