काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो दल दर्ता खारेजी गर्दै निर्वाचन आयोगमा परेको निवेदनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार प्रेस वक्तव्य जारी गरी प्रतिक्रिया दिएको मााओवादी केन्द्रले सरोकार नै नभएका व्यक्तिले निर्वाचन आयोगमा दल दर्ता खारेजीको निवेदन दिनु हास्यास्पद भएको प्रतिक्रिया दिएको छ ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा गर्दै अवसरवादी र अनैतिक तत्त्वले पार्टीलाई बदनाम गराउन निवेदन दर्ता गराएको उल्लेख गरिएको छ ।
माओवादी छोडेर एमालेमा गएका नेताहरूले अधिवक्ता सरोज बुढाथोकीमार्फत् बुधबार आयोगमा माओवादी केन्द्रको दल दर्ता खारेजीका लागि निवेदन दर्ता गराएका थिए ।
माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको निवेदन दिएका थिए । यस्तै माओवादी छाडेर एमालेमा प्रवेश गरेका नेताहरू शुक्रबार पनि निर्वाचन आयोग गएका छन् ।
दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनमा आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन नेताहरू आयोग पुगेको बुझिएको छ । उनिहरुले आयेगलाई यसबारे छिटो प्रक्रिया अघि बढाउन अनुरोध गरेको जनाइएको छ ।