काठमाडौं। सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डामा सहमति जुटेको छ। आज बिहान बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मन्त्रालय बाँडफाँटमा सहमति गरेको हो।
सहमतिअनुसार कांग्रेसले ६ वटा मन्त्रालय पाउने छ। नेकपा माओवादी केन्द्र , नेकपा एस र जसपाले ५-५ मन्त्रालयको नेतृत्व र १-१ राज्यमन्त्री पाउने सहमति बनेको छ।
अहिले कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाण, परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का र कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की छन्। कांग्रेसबाट उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा छन्। स्रोतका अनुसार अब कांग्रेसले सञ्चार र महिला बालबालिका मन्त्रालय लिनेछ।
माओवादीबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भूसालले जिम्मेवारी पाइसकेका छन्। माओवादीले अब कृषि, खानेपानी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाउँनेछ। नेकपा एसले पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, युवा तथा खेलकुद र रक्षा मन्त्रालय पाउँनेछ।
जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, श्रम तथा रोजगार, वन तथा वातावरण र शिक्षा मन्त्रालय पाउँनेछ। माओवादी, नेकपा एस र जसपाले १-१ राज्यमन्त्री पाउने छन्। मन्त्रालय भागबण्डामा सहमति जुटेकोले सबै दलले आन्तरिक तयारी गरेर शुक्रबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने जनाइएको छ।