काठमाडौं। कर्णाली प्रदेशमा मुख्यमन्त्री बन्ने दाउमा रहेका जीवन बहादुर शाहीले धम्कीपुर्ण स्टाटस लेख्दै पार्टी नेताप्रति असन्तुष्टी जनाएका छन्। कर्णालीमा नेकपा माओवादी र नेपाली कांग्रेसबीच ६ महिना भित्र सरकार फेरबदल गर्ने सहमति भएको छ।
जसअनुसार कांग्रेस नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्नुपर्ने हो। तर कर्णाली सरकारको नेतृत्व हाँक्ने सम्भावना कमजोर हुँदा शाहीले सामाजिक सन्जाल फेसबुकमार्फत पार्टी नै त्याग्ने धम्कीपूर्ण सन्देश जारी गर्दै आफ्नै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘जुन नेताहरुको लागि ज्यान फालेर लागिन्छ उनीहरुले नै विश्वास गर्दैनन भने विश्वास गर्नेतिर नै लाग्दा वेश हुन्छ कि जस्तो लाग्न थाल्यो।’ उनको यो अभिव्यक्तिले कर्णाली कांग्रेसमा हलचल ल्याएको छ।
बैशाखमा माओवादीसँग गरेको सहमतिअनुसार उनी कात्तिक महिनादेखि मुख्यमन्त्री बन्नुपर्ने भए पनि केन्द्रीय नेतृत्वले नै आफूलाई मुख्यमन्त्री बन्न नदिएको आशंका उनको रहेकोले उनले पार्टी नै त्याग्ने धम्की दिएका हुन्।