काठमाडौं। नेकपा एकीकृत समाजवादीले सात वटै प्रदेश कमिटी र प्रवाशका समेत पदाधिकारीहरु मनोनयन गरेको छ। अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तर पार्टी निर्देशनमा प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवहरुको नाम पठाइएको छ।
जस अनुसार नेकपा एकीकृत समाजवादीले प्रदेश १ को इन्चार्जमा नेता घनेन्द्र बस्नेतलाई जिम्मेवारी दिएको छ। उनी नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष पनि हुन् । प्रदेश १ को अध्यक्षमा उदयपुरका पूर्व सांसद सुरेश कार्कीलाई मनोनित गरेको छ। त्यस्तै उपाध्यक्षमा खोटाङका प्रदेशसभा सदस्य राजन राई र सचिवमा मोरङका महेश रेग्मी छन्।
प्रदेश २ को अध्यक्षमा सिरहाका पूर्व सांसद रामचन्द्र यादव चयन भएका छन्। सचिवमा लक्ष्मण पौडेल र इन्चार्जमा सिरहाकै धर्मनाथ प्रसाद साह छन्। साह पनि नेकपा एसको उपाध्यक्ष पनि हुन्। यता वागमती प्रदेश कमिटीको अध्यक्ष सावित्रा भुसाल र सचिवमा काभ्रेका प्रदेशसभा सदस्य लक्ष्मण लम्साल चयन भएका छन्। इन्चार्जमा केदार न्यौपानेलाई तोकिएको छ।
गण्डकी प्रदेश कमिटी अध्यक्षमा नेकपा एसले तुलवहादुर गुरुङ, उपाध्यक्ष रामजी प्रसाद शर्मा र सचिवमा प्रतापलाल श्रेष्ठ र इन्चार्जमा चुडामणी जंगली रहेका छन्। त्यस्तै लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा मेटमणी चौधरी, सचिवमा रुपन्देहीका राजु गुरुङ र इन्चार्जमा भागवत विश्वासी छन्।
कर्णालीमा सचिवमा राष्ट्रियसभा सदस्य ठगेन्द्र प्रकाश पुरी र इन्चार्जमा उपमहासचिव प्रकाश ज्वाला छन्। कर्णालीमा प्रदेश कमिटीको अध्यक्ष तोक्न भने बाँकी रहेको छ। सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा विक्रम शाही, उपाध्यक्ष हर्कवहादुर सिंह, शेरवहादुर कुँवर र सचिवमा दिनेशन्द्र सुवेदी छन्।
सुदुरपश्चिमको इन्चार्ज गरिमा शाहलाई बनाइएको छ। नेकपा एसले प्रवास प्रदेशको इन्चार्जमा स्थायी कमिटी सदस्य श्रीप्रसाद साहलाई जिम्मा दिएको छ।