शनिवार, आश्विन २४ गते २०८३

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिँदै

आइतवार , कार्तिक ७, २०७८

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् ।

नेकपा (एमाले) विभाजनको दोस्रो दिन गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज साढे १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बोलाएका छन् ।

एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

सत्ता पक्ष एमालेसँग सभामुखसहित ४१ सांसद छन् । एमालेकी सांसद गुलेफुन खातुन भने फरार छिन् । सरकारी छाप किर्ते मुद्दामा दोषी ठहर भएकी उनी आजको प्रदेशसभा बैठकमा उपस्थित हुने सम्भावना कम छ ।

प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद् छन् । एक सांसद रहेको राप्रपा भने कुनै पक्षमा खुलेको छैन । विपक्षी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी छ। आज बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत नपाए प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार