काठमाडौं। नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ। निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ।
प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताए। पछिल्लो पटक संशोधित तालिकाअनुसार कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुनुपर्ने थियो। त्यसअनुसार १८ असोजमा सुरु भएको वडा अधिवेशन अझै सकिएको छैन।
१३ जिल्लामा जिल्ला तहसम्मै अधिवेशन भइसकेको छ भने ५१ जिल्लामा स्थानीय तहसम्म अधिवेशन भएको छ। तर १३ जिल्लामा वडा अधिवेशन नै भएको छैन। त्यसमा पनि दुई जिल्ला (रौतहट र रसुवा)को क्रियाशील सदस्यता विवाद नै टुंगिएको छैन।