काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद पुन:स्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताएका छन्।
न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको पनि उनले बताए। समाजवादी प्रेस संगठनले आज कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउने कुरा नाजायज र अनुचित भएको बताए।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको आवाज उठिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुन:स्थापनाको आदेश दिने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए।
त्यसबारे सोधिएको प्रश्नमा नेपालले भने, ‘उहाँले ९केपी शर्मा ओलीले० आफ्नो रिस साँध्नका लागि सबैलाई निकाल्नुपर्छ भन्दै जुन ढंगले भूमिका खेल्नुभएको छ, उहाँको अत्यन्तै अनुचित हस्तक्षेपकारी, देशका सबै सिस्टमलाई भत्काउने प्रवृत्तिकै उपज हो।’
नेपालले भने, ‘केपी ओली जीले साराथोक बिगार्नु भाछ। न्यायपालिकालाई अनावश्यक रुपमा लान्छना लगाउने काम गर्दै आउनु भयो। न्यापालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने हो।’