काठमाडौं। विवेककशील–साझा पार्टी औपचारिक रुपमा विभाजनको संघारमा पुगेको छ। आज संस्थापन पक्षले पार्टीको केन्द्रीय समिति बैठक बोलाएर अध्यक्ष मिश्रको चर्चित दस्तावेज पारित गरायो भने भोलि असन्तुष्ट पक्षले बैठक डाकेको छ।
पार्टीमा अध्यक्ष र संयोजकले संयुक्तरुपमा वैठक बोलाउनुपर्ने प्रावधान भए पनि उनीहरुबीच आपसी सहमति नजुटेपछि अलग-अलग बैठक डाकेका हुन्। मिश्रले आजका लागि एकतर्फीरुपमा केन्द्रीय समिति बैठक डाकेपछि त्यसलाई काउन्टर दिँदै पार्टीका संयोजक मिलन पाण्डेले भोलि २ बजे वैठक बोलाएका छन्।
उनले बैठकका लागि ११ वटा एजेन्डा प्रस्तुत गरेका छन्। जसमा पार्टीभित्र बहसमा रहेका दस्तावेजहरु, अध्यक्ष र संयोजकको भूमिकाको समिक्षा, महाधिवेसन मिति घोषणा लगायत छन्।
संयोजक पाण्डेले केन्द्रीय सदस्यहरुर्लाइ पठाएको पत्रमा पार्टी अध्यक्षले एकीकरण घोषणापत्रको मर्मविपरित सचिवालयको बैठक राखेको र आफूले प्रयास गर्दागर्दै पनि संयुक्त केन्द्रीय समितिको बैठक बोलाउन नसकेको उल्लेख गरेका छन्। यसले लामो समयदेखी विवादमा रहँदै आएको विवेकशिल पार्टीपनि औपचारिक रुपमै विभाजनतर्फ उन्मुख भएको छ।