काठमाडौं। नेपाली समाजमा अनेक कुशंस्कार, परम्परा अन्धविश्वास अझैपनि कायमै छन्। जसबाट महिलाहरुले अनेक हिँसामा पर्नुपरेको घटना सुन्दै आएका छौँ। तर यस्ता अन्धविश्वासका कारण पुरुषले पनि यदाकदा हिँसा भोग्नु परेको छ। यस्तै अन्धविश्वासका कारण महोत्तरीमा एक पुरुषलाई मलमुत्र खुवाई कुटपिट गरिएको छ।
बोक्साको आरोपमा एक पुरुषमाथि कुटपिट गर्नुका साथै मलमूत्र खुवाइएको हो। औरही नगरपालिकाका ९ का ५५ वर्षीय रुपसी ठाकुर लोहारलाई छिमेकीले बोक्साको आरोप लगाउँदै कुटपिट गर्दै मलमूत्र खुवाएको प्रहरीले जनाएको छ।
महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी प्रकाश विष्टका अनुसार घटना बिहीबार साँझको हो। छिमेकी रामशिला देवी मण्डल, उनका छोरा रामकृष्ण मण्डल, सोही ठाउँकी सुखियादेवी र उनका छोरा कृष्ण मण्डलसहितले घरमा पसेर लोहारमाथि कुटपिट गर्दै मुखमा मलमुत्र कोचाएको प्रहरीले जनाएको छ।
सुरुमा दुवै पक्षबीच आपसमा गालीगलौज भएको थियो। त्यसपछि एक समूहले लोहारलाई मलमुत्र खुवाएका थिए। घटनामा संलग्न एक महिला पक्राउ परेकी छन्। पक्राउ परेकी रामशिलाका श्रीमानको केही दिन अगाडि मृत्यु भएको थियो ।
लगत्तै कात्तिक १० मा उनका छोरा मोटरसाइकल दुर्घटनामा परे। दुई घटना ठाकुरले नै टुनामुना लगाएर गराएको भन्दै रामशिलाले लोहारलाई मलमुत्र खुवाउन लगाएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य भने फरार रहेको र उनिहरुको खोजी भइरहेको जनाइएको छ।