सप्तरी । नेपाली कांग्रेसको सप्तरी क्षेत्र नं. २ मा लामो समयदेखि सहमति जुट्न नसक्दा निर्वाचनमार्फत नेतृत्व चयन हुँदै आएकोमा यसपटक भने अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ।
अधिवेशनबाट शम्भुलाल देव क्षेत्रीय अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
कांग्रेसभित्रको आन्तरिक मतभेद र मनमुटाव कम गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न रञ्जित कर्णको पहल महत्वपूर्ण रहेको स्थानीय नेताहरूले बताएका छन्।
सप्तरी क्षेत्र नं. २ मा विगतदेखि नै अधिवेशनका क्रममा सहमति जुट्न नसक्ने र नेतृत्व चयनका लागि निर्वाचनमै जानुपर्ने अवस्था रहँदै आएको थियो। पार्टीभित्रको आन्तरिक द्वन्द्वको प्रभाव वडादेखि स्थानीय तह हुँदै प्रदेशसभा निर्वाचनसम्म परेको र त्यसका कारण कांग्रेसले अपेक्षित परिणाम हासिल गर्न नसकेको स्थानीय नेताहरूको भनाइ छ।
यसपटक भने रञ्जित कर्णको पहलमा कांग्रेसका विभिन्न पक्षबीच संवाद र सहमतिको वातावरण निर्माण गरिएको बताइएको छ।
लामो समयदेखिको आन्तरिक असमझदारीलाई कम गर्दै सबै कांग्रेसजनलाई समेटेर शम्भुलाल देवको नेतृत्वमा सर्वसम्मत रूपमा अधिवेशन सम्पन्न भएपछि क्षेत्र नं. २ का स्थानीय नेता तथा कार्यकर्तामा उत्साह र खुसी देखिएको छ।
स्थानीय नेताहरूका अनुसार अधिवेशनमा सहमति कायम हुनु केवल नेतृत्व चयनको विषय नभई आगामी दिनमा पार्टीलाई एकताबद्ध र संगठनलाई थप मजबुत बनाउने आधारसमेत बनेको छ।
लामो समयदेखि देखिएको मनमुटाव अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा नेता तथा कार्यकर्ताले जोड दिएका छन्।
सप्तरी क्षेत्र नं. २ का नवनिर्वाचित अध्यक्ष शम्भुलाल देवले सबै पक्षलाई समेटेर संगठनलाई थप सक्रिय र बलियो बनाउने दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको स्थानीय नेताहरूले बताएका छन्।
सर्वसम्मत अधिवेशनपछि क्षेत्र नं. २ का कांग्रेस कार्यकर्तामा नयाँ उत्साह देखिएको र आगामी दिनमा पार्टीको संगठनलाई थप मजबुत बनाउने वातावरण तयार भएको स्थानीय नेताहरूको भनाइ छ।