काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले अहिलेको सत्ता गठबन्धन धोकाधडी भएको टिप्पणी गरेका छन्। प्रेस चौतारी नेपाल सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले गठबन्धनबीच नै एकअर्कालाई घात गरिरहेकाले यो गठबन्धन धोकाधडी भएको भन्दै त्यसको पुष्टि कर्णालीमा भइसकेको जिकिर गरे।
नेता बस्नेतले नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलले सत्तामा आफू मात्र टिकिराख्न एकअर्कालाई विश्वासघात गर्दै आएको आरोप लगाए। पूर्वमन्त्री समेत रहेका उनले कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्ने कांग्रेस र माओवादीको सहमति कता हरायो भन्दै यो सत्ताका लागि गरिएको छल र स्वार्थ मात्र भएको दाबी गरे।
बस्नेत दैलेखको गुराँस गाउँपालिकामा एमालेको गाउँ कमिटी अधिवेशनलाई सम्बोधन गर्न जाने क्रममा वीरेन्द्रनगर पुगेका हुन्।