काठमाडौं। सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि सुरु हुँदै छ।
पार्टीको सांगठनिक संरचना लगायतका विभिन्न विषयमा छलफल गर्न बैठक बस्न लागेको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो। दुई दिनसम्म चल्ने केन्द्रीय कमिटीको पूर्ण बैठकका एजेण्डा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले तय गरेको हो। उपमहासचिव तुलाधरका अनुसार केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय अनुशासन आयोग, लेखा र निर्वाचन आयोगका सदस्यहरुको शपथ ग्रहण गराउनेदेखि अन्य एजेण्डा रहेका छन्।
बैठकबाट पार्टीको स्पष्ट दृष्टिकोण सार्वजनिक गर्ने तयारीसमेत गरिएको छ। केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष र सम्मानित नेताले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको रहेको तुलाधरले बताउनुभयो।
त्यसैगरी संघीय मन्त्री र प्रदेश १ तथा बागमतीका मुख्यमन्त्रीले पनि बैठकमा आफ्नो कार्ययोजना पेस गर्ने बताइएको छ। केन्द्रीय कमिटीको बैठकमा सातवटै प्रदेशको तर्फबाट त्यहाँका इन्चार्जले प्रदेशको अवस्थाका बारेमा रिपोर्टिङ पनि गर्ने जनाइएको छ।