काठमाडौँ। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई आजबाट देशव्यापी बनाउँदै छ। जबराले राजीनामा दिन आलटाल गरेपछि बारले आन्दोलन चर्काउँदै लगेको हो। आजदेखि जिल्ला तथा इकाइहरू पनि आन्दोलनमा उत्रिने बारले जनाएको छ।
जसअनुसार सबै इकाइका कानुन व्यवसायीले कालोपट्टी बाँधेर काम गर्ने छन् भने, काभ्रे र उपत्यकाका तीनै जिल्लाका कानुन व्यवसायीहरू सर्वोच्च अदालतमा जारी धर्ना कार्यक्रममा सहभागी हुने छन्। बारका महासचिव लीलामणि पौडेलका अनुसार सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतहरूलाई १२ बजेसम्म मुद्दा सुनुवाइ नगर्न आग्रह गरिएको छ।
आज प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउन सर्वोच्चका दुवै ढोकामा धर्ना दिने पनि उहाँले बताउनुभयो। कानुन व्यवसायीहरूले हिजो नै प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मूल गेटमा धर्ना दिएका थिए। तर, जबरा अर्को गेटबाट कार्यालय प्रवेश गर्नुभएको थियो। आज भने दुवै गेटमा धर्ना दिने कानून व्यवसायीहरुको तयारी छ।
बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ। विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको, बिचौलियासँग साँठगाँठ गरेकालगायतका गम्भीर आरोप प्रधानन्यायाधीश जबरामाथि लागेका छन्।
प्रधानन्यायाधीशबाहेकका सर्वोच्चका बाँकी १९ न्यायाधीशहरू पनि जबराविरुद्ध संघर्षरत छन्। उनीहरूले पनि शुक्रबार बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत सुनुवाइ नगरी प्रधानन्यायाधीश जबरालाई पद छाड्न दबाब दिएका थिए।