काठमाडौं। नेकपा एमालेको दशौं महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा झापा–४ (ख) का प्रदेशसभा सदस्य हिराकुमार थापा पराजित भएका छन्। थापा भीम आचार्य मुख्यमन्त्री हुँदा प्रदेश–१ का सामाजिक विकासमन्त्री थिए।
निर्वाचनमा झापा–४ बाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटमा सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो। निर्वाचनमा ३,५६२ मत खसेको थियो, जसमा कन्काइ नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले सर्वाधिक १,७०४ मत ल्याउँदै प्रतिनिधि चुनिए। धनबहादुर थोवे १,५३२, चन्द्रकुमारा शेर्मा १,४६२, राधाकृष्ण खनाल १,४००, खेमनाथ मिश्र १,३४० र भैरवकुमार श्रेष्ठ १,३०२ मत ल्याएर प्रतिनिधि चुनिए। श्रेष्ठ शिव सताक्षी –११ का वडाध्यक्ष हुन्।
तर १,२२९ मत मात्रै ल्याएपछि पूर्वमन्त्री थापा प्रतिनिधि चुनिन सकेनन्। ६ जना प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा १६ जनाबीच प्रतिस्पर्धा भएको थियो। महिलातर्फ अमृता राई २,३१४, चम्पादेवी खनाल २,२११ र इन्दिरा बस्नेत १,९३० मत ल्याएर प्रतिनिधि चुनिए। मंसिर १० देखि चितवनमा हुने एमालेको दशौं महाधिवेशनका लागि झापाबाट ४९ जना प्रतिनिधि चुनिएका छन्।