शनिवार, आश्विन २४ गते २०८३

प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन, यस्तो छ सर्वोच्च परिसरको अपडेट

सोमवार , कार्तिक २९, २०७८

काठमाडौं। सर्वोच्च अदालतभित्र प्रवेश गरेर प्रदर्शन गरेका कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ।

प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो । केही कानुन व्यवसायीहरुमाथि प्रहरीले सामान्य लाठीचार्ज गरेको छ भने उनीहरुले प्रयोग गर्दै आएको माइक पनि खोसेको छ ।

नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौड्यालले माइक फिर्ता गर्न र शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरी अधिकृतलाई भनेका छन् । कानुन व्यवसायीहरुले प्रदर्शनस्थलमा भाषण गरेका छैनन् । उनीहरु धर्नामा बसेका छन् ।

प्रधानन्यायाधीशका समर्थकको प्रदर्शन

अदालत परिसर बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका समर्थकहरुले प्रदर्शन गरेका छन्।

उनीहरुले कानुन व्यवसायीहरुको आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान

 प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका छन् । आज विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान गरेका हुन् ।



नेपाल बारको अगुवाइमा आन्दोलनरत कानुन व्यवसायीहरुले भने आफूहरुको आन्दोलन बिथोल्न प्रधानन्यायाधीश जबराको निर्देशनमा ‘भिजिलान्ते’हरु प्रयोग गरिएको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार